नेपाली कांग्रेसका नेता घिमिरेको निधन

काठमाडौं । भदाै ३१, नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको निधन भएको छ। उनको बिहीबार राति ८ : १५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ।
घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए।
२०२५ सालमा जन्मिएका घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको पौडेलले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ। घिमिरेको शुक्रबार दिउँसो १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। साथै, उनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।