आजबाट खुले दशैंका लागि टिकट काउण्टर, बढी शुल्क लिए कहाँ खबर गर्ने ?

सहयात्रा टिभी

काठमाडौं । असोज १, देशभरका बस व्यवसायीहरुले आजदेखि दशैंमा घर जाने यात्रुहरुका लागि अग्रिम टिकट खुलाएका छन् । सरकारले दशैंतिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्न अनुमति दिएपछि आजबाट यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको हो ।

भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने निर्णय गरेको थियो ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारीसाधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, कोभिड–१९ महामारीलाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय समेत उक्त बैठकले गरेको थियो ।

यातायात आवागमन सहज बनाउन खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारीसाधन आगामी असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय बैठकले गरेको थियो । धेरै गाडी आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका सह अध्यक्ष किरण रिजालले आजदेखि देशव्यापी रुपमा सार्वजनिक यातायातहरुको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिए । आर्थिक न्युजसँगको कुराकानीमा सहअध्यक्ष रिजालले यस पटक यातायातका साधन पर्याप्त रहेको बताए ।

अग्रिम टिकट ब्किङ खुला गर्दा सरकारको नियामक निकाय र यातायात व्यवसायीले जुन मापदण्ड बनाउने सहमति भएको हो, त्यसलाई तोडिन नदिने उनको भनाइ छ । अग्रिम टिकट बुकिङमा विचौलिया निषेध गरिएको बताउँदै रिजालले कसैले टिकटमा बढी शुल्क लिएको जस्तो लागेमा तत्काल प्रहरी वा ट्राफिकलाई खबर गरेर ठगिनबाट जोगिन आग्रह गरे ।

रिजालका अनुसार सदा झैं यस पटक पनि पटके रुट परमिटमा यातायातका साधनहरु जहाँ पनि जान पाउने गरी सरकारले अनुमति दिएको छ । यद्यपी रुट थाहा नभएको ठाउँमा यातायातका साधन पठाउँदा असुरक्षा हुने गुनासो आउने भएकोले यस्तो पटके रुट परमिट उपत्यका नजिकका जिल्लामा बढी लागू हुने उनको भनाइ रहेको छ । दशैं, तिहार र छठका समयमा यातायात व्यवसायीहरुलाई रुट परमिट नभएका स्थानमा पनि जान अनुमति दिइएको हुन्छ ।

प्रकाशित : 17 September, 2022

प्रतिक्रिया दिनुहोस्