अछाममा पहिरोले पुरिएर ८ को मृत्यु, १० जना बेपत्ता

धनगढी । असोज १, अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।
ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए । उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ । यसअघि तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो भने सात जना अझै बेपत्ता छन् ।