छैटौं संस्करणमा नयाँ कीर्तिमान बनाउदै साफ महिला च्याम्पियनसिप

काठमाडौ । असोज २, काठमाडौंमा भइरहेको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा नयाँ-नयाँ कीर्तिमान बनिरहेको छ । नेपालले लगातार दोस्रो पटक च्याम्पियनसिप आयोजना गरेको हो ।
समूह चरणमा ९ र सेमिफाइनलमा दुई खेल सकिँदा विभिन्न कीर्तिमान बने । अब फाइनल बाँकी छ र फाइनल खेलपछि पनि नयाँ कीर्तिमान बन्ने पक्का छ । फाइनल पुग्ने दुवै टिम नेपाल र बंगलादेशले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् । त्यसैले यस पटक जसले जितेपनि नयाँ च्याम्पियन बन्नेछ ।
नेपाल पाँचौ पटक र बंगलादेश दोस्रो पटक फाइनल पुगेका हुन् । यसअघि सन् २०१६ मा नेपाल सेमिफाइनल पुग्न सकेको थिएन भने त्यही संस्करणमा बंगलादेश सेमिफाइनल पुगेको थियो ।
च्याम्पियनसिपको १२ वर्षे इतिहासमा पहिलो पटक नेपालको अन्तर्राष्ट्रियस्तरको रंगशाला दशरथ रंगशालामा महिला साफ आयोजना भइरहेको छ ।
यसअघि सन् २०१९ मा पनि नेपालकै विराटनगरमा च्याम्पियन आयोजना भएको थियो । त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतमा एक(एक पटक च्याम्पियन आयोजना भएका थिए ।