आज तेस्रो दिन मनाइयो जितिया पर्व

जनकपुर । असोज ३, तराई–मधेसमा जितिया पर्वको तेस्रो दिन आइतबार व्रतालुले स्नान र कथा श्रवण गरेर मनाएका छन् । यो पर्व शुक्रबार नहाय–खायसँगै सुरु भएको हो । असोज कृष्णपक्षको षष्ठीदेखि नवमी तिथिसम्म यो पर्व मनाइन्छ । पर्वको पहिलो दिन शुक्रबार व्रतालुले पवित्र जलाशयमा स्नान गरी माछा र कोदोको रोटी खाएका थिए । जसलाई स्थानीय रूपमा माछ–मरुवा भनिन्छ ।
चार दिनसम्म मनाइने पर्वको दोस्रो दिन व्रतालु सूर्य उदय हुनुअघि नै ‘अंगुठन’ गर्छन् । बिहान काग कराउनुअघि घिरौंलाको पातमा चिउरा, दही, केरा, अमोट (आँपको रसबाट बनाएको परिकार) प्रसाद चढाएर स–परिवार प्रसाद ग्रहण गर्नुलाई अंगुठन भनिन्छ । दोस्रो र तेस्रो दिन व्रतालुहरू उपवास बस्छन् ।
चौंथो दिन नजिकका नदी, तलाउ, सरोवरमा स्नान गरी व्रतालुहरू जिमुत वाहनको कथा सुन्छन् । उक्त कथा सुन्न धनुषाको गंगासागर, धनुषसागर, महाराजसागरलगायतका पोखरी तथा दूधमती, कमला, जमुनी र जलादसलगायत नदीखोला किनारमा ठूलो भीड लाग्छ ।
पितृपक्षमा पुरुषहरूले पितृहरूलाई जल तर्पण गरेजस्तै जितिया पर्वमा महिलाहरूले आ–आफ्ना दिवंगत आमा, सासुलगायतलाई नैवेद्य चढाउँछन् । अन्य पर्वको पूर्वसन्ध्यामा चोखो खाने चलन भए पनि जितिया पर्वको पूर्वसन्ध्यामा भने माछा र कोदोको रोटी खाने चलन छ । सन्तानको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै मनाइने यस पर्वको मिथिला क्षेत्रमा विशेष महत्त्व छ ।