संगीतकार शुभबहादुर सुनामको निधन

काठमाडौं । असोज ३, सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवाधनमा स्थापित गर्ने चर्चित संगीतकर्मी शुभबहादुर सुनामको आज बिहान निधन भएको छ । नाती एलिस कार्कीका अनुसार छाउनीस्थित सैनिक अस्पतालमा बिहान ५ बजे सुनामले अन्तिम श्वास लिए ।
लामो समयदेखि किड्नीको रोगबाट पीडित सुनामलाई राती असहज भएपछि अस्पताल लगिएको थियो । ‘किड्नीको समस्या थियो । डायलोसिस पनि हुँदै थियो । सोही क्रममा आज बिहान हजुरबुवाको निधन भयो’ कार्कीले भने । दाहसंस्कारका लागि सुनामको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा लगिएको छ । सैनिक सलामीसहित उनलाई अन्तिम श्रद्धाञ्जली दिइने भएको छ । संगीतकार संघका पदाधिकारीसहित फिल्म र संगीतकर्मी पनि आर्यघाटमा उपस्थित भएका छन् ।
७४ वर्षिय सुनामले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए । सैनिक ब्यान्डमा रही उनी वाद्यवाधन र तथा संगीत सिर्जनामा सक्रिय उनले तत्कालिन युवराज दीपेन्द्र शाहलाई समेत संगीत सिकाएका थिए । रेलीमाई रेलीमाई, फूलैफूलको मौसम तिमीलाई, हुँ यात्री, पर लैजाऊ फूलहरु, गोरेट त्यो गाउँको, यो नानीको शिरैमा, चिसो चिसो हावामा उनका हिट गीतहरु हुन् । उनी तारादेवीका समेत मनपर्ने संगीतकार थिए ।
उनले ७७५ भन्दा बढी गीतमा संगीत भरेका छन् । त्यसमा फिल्म, भजन, आधुनिक टिभी सिरियल, पप, बालगीत र राष्ट्रिय गीत समावेश छन् । उनले अधिकांश संगीत तारादेवी, प्रेमध्वज प्रधान, मीरा राणा, अनुराधा पौड्याल, कविता कृष्णमूर्ति, कुमार बस्नेत, प्राश्ना शाक्यका गीतमा समेत संगीत भरेका छन् । उनले पछिल्लो समय आफ्ना छोराहरुसहित नाती र नातिनीहरुलाई सेक्सोफोन वाधन र संगीततर्फ प्रेरित गरिरहेका थिए ।