धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै कात्तिकदेखि वाग्मतीमा सफा पानी बग्ने

सहयात्रा टिभी

काठमाडौं । असोज ३, वाग्मती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आउँदो कात्तिकदेखि वाग्मती नदीमा सफा पानी बग्ने भएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्ने वाग्मती धाप परियोजनामा जम्मा गरिएको पानी आउँदो असोज २९ गतेपछि वाग्मती नदीमा पठाउने तयारी भइरहेको छ ।

समुद्री सतहदेखि दुई हजार ८० देखि ९० मिटरको उचाइमा मानव निर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मानिएको छ । साथै यो धाप नेपालमै पहिलो सीएफआरडी ड्याम पनि हो । उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको कृत्रिम ताल निर्माणको लागत ४५ करोड रुपैयाँ हो । यो ताल आठ हेक्टर अर्थात १५८ रोपनीमा फैलिएको छ । सन् २०१५ देखि ड्यामको काम सुरु गरिएको थियो ।

यो धापमा २४ मिटर अग्लो बाँध हुने र बाँधमा वर्षायाममा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी सङ्कलन गरिनेछ । यो क्षेत्र आफैँमा धाप क्षेत्र पनि हो । निर्माण हुँदै गरेको धाप बाँधबाट सुक्खायाममा प्रतिसकेण्ड ४० लिटरका दरले वाग्मतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ ।

ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहर व्यवस्थापन भएको खण्डमा यसबाट वाग्मतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । आयोजनाका प्रमुख इञ्जिनियर निश्चल छतकुलीले काठमाण्डौ उपत्यकामा पानीको उपलब्धता र पानीको गुणस्तर दिनानुदिन घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर धाप निर्माण गरेको बताउनु भयो ।

एसियाली विकास बैंकको ऋण सहयोगमा यो अभियान सुरु भएको हो ।अहिले मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण गरी पानी जम्मा गर्न सुरु गरिएको छ । सुरुमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्योभन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको छ ।

 

 

 

 

प्रकाशित : 19 September, 2022

प्रतिक्रिया दिनुहोस्