साढे १६ हजारभन्दा धेरैमा डेङ्गी सङ्क्रमण पुष्टि ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

काठमाडौं । असोज ३, नेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभयो । यस्तै अहिलेसम्म १६ हजार पाँच सय ८७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।
अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६ सय चार जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा चार हजार चार सय ५४ र भक्तपुरमा सात सय १३ जना गरी काठमाण्डौ उपत्यकामा डेङ्गी सङ्क्रमितको सङ्ख्या नौ हजार सात सय ७१ पुगेको छ ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार पाँच सय ९७ जनामा सङ्क्रमण देखिएको छ । दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९, चितवनमा चार सय १०, गुल्मीमा दुई सय ९२, दार्चुलामा एक सय ८८ र काभ्रेमा एक सय ५२ जनामा सङ्क्रमण देखिएको छ । अरू जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्याङ्क छ । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विज्ञहरूको सुझाव छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डेङ्गी परीक्षण गर्ने टेस्ट र्यापिड किटलाई तीन सय रुपैयाँ पर्दछ । जिल्ला स्वास्थ्य कार्यालय दाङले शुल्क निर्धारण र अनुगमनको काम सङ्घीय मन्त्रालयको रहेको जनाएको छ ।