ऐना झ्यालको पुतली नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस

काठमाडौं । असोज ३,अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।
समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
यो सालको अस्कर अवार्ड मार्च १२ का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली “कपील”, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् ।