सर्लाहीमा चट्याङले १ को मृत्यु, ४ घाइते

सर्लाही । असोज ४, सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १२, घारिबथानमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। घटनामा मृतक युवककी पत्नीसहित चार जना घाइते भएका छन्।
सोमबार साँझ वर्षासँगै परेको चट्याङ लागेर ईश्वरपुर १२ गुइडुङ गाउँका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।
चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार राति महोत्तरीको बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याइएको थियो। अस्पतालमा पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा मृतक घलानकी पत्नी २६ वर्षीया नन्दीमाया घलान, २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी छोरी ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीया रुद्रबहादुर स्याङ्तान घाइते भएका छन्।
पानी परेका बेला घलान दम्पती ज्वाइँ नाता पर्ने वुद्धबहादुरको घरमा गएर गफ गरेर बसिरहेको ठाउँमा चट्याङ परेको स्थानीयले बताएका छन्। घाइते सबैको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबै खतरामुक्त छन्।