सम्पत्ति बहालमा दिने विद्यालयहरुको तथ्यांक संकलन गर्दै १० प्रतिशत कर तिर्न महानगरको आग्रह
काठमाडौ । असोज ४, काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट पनि बहाल कर उठाउने भएको छ । सम्पत्ति बहालमा दिई आय आर्जन गरिरहेका सामुदायिक विद्यालयलाई १० प्रतिशत बहालकर बुझाउन महानगरपालिकाले आग्रह गरेको छ ।
तर कति विद्यालयले आफ्नो सम्पत्ति बहालमा लगाएका छन् भन्ने विवरण महानगरपालिकासँग छैन । महानगरपालिकाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये ५९ माध्यामिक र ३० वटा आधारभूत विद्यालय छन् । प्रदर्शनी मार्गस्थित पद्मोदय माध्यमिक विद्यालयले भने धेरै वर्षदेखि बहाल कर तिर्दै आएको बतएको छ ।
४र५ वटा आधारभूत र २० वटा माध्यमिक विद्यालयले सम्पत्ति बहालमा लगाएर आम्दानी गरिरहेको महानगरपालिकाको अनुमान छ । महानगरपालिकाको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले सम्पत्ति बहालमा दिने विद्यालयहरुको तथ्यांक संकलन गरिरहेको बताए ।
बाँसबारीस्थित बाँसबारी माविले पनि पाँच वटा सटर भाडामा लगाएको छ । सडकसँगैका कक्षाकोठामा गाडीको आवाजले पठनपाठन गराउन समस्या हुने भएपछि सटर बनाएर भाडामा लगाएको प्रधानाध्यापक अनिल झाले बताए ।
महानगरपालिकाले बहाल कर तिर्न सूचना जारी गरेको जानकारी पाएको तर पत्र नपाएको उनले बताए । ‘विद्यासुन्दर शाक्य मेयर हुँदा बहाल करबारे छलफल भएको थियो । सम्पत्ति बहालमा दिएका विद्यालयबाट कर उठाई कमजोर विद्यालयहरुको लागि प्रयोग गर्ने कुरा भएको थियो’ उनले भने । महानगरपालिकालाई बहाल कर तिर्न कुनै समस्या नभएको प्रधानाध्यापक झाले बताए ।