डा.केसी आफ्नै खर्चमा काठमाडौं आउने

काठमाडौ । असोज ५, कैलालीको धनगढीमा अनसनरत डाक्टर गोविन्दा केसी उपचारका लागि बुधबार साढे चार बजे काठमाडौं आउने भएका छन् । मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं आउन अस्वीकार गरेका उनी आज भने आफ्नै खर्चमा आउने तय भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
डाक्टर केसी काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने सुवेदीले बताए । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर केसी १० दिनदेखि अनशनरत छन् ।
चिकित्सा क्षेत्र र स्वास्थ्य क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर उनी आमरण अनसनमा बसेका हुन् । १० दिन लामो अनसनका कारण उनको स्वास्थ्यस्थिति कमजोर बनेको छ ।
डा.केसीले मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेट बाहेक कुनै पनि पदार्थ लिएका छैनन् । मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएकाले थप उपचारको लागि बहुबिशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न चिकित्सकले सुझाव दिएका थिए ।