त्रिविमा तालाबन्दीका कारण नतिजा प्रकाशनमा समस्या, नतिजाको प्रतीक्षामा विद्यार्थी आक्रोशित

काठमाडौ । असोज ७, त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । तालाबन्दीका कारण परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन भइसक्थ्यो । तर, १४ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नभएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् ।
त्रिविमा लामो समयदेखि भइरहेको तालाबन्दीका कारण नतिजा प्रकाशनमा समस्या भइरहेको त्रिविले जनाएको छ । त्रिविको रजिष्ट्रार कार्यालयदेखि अधिकांश विभागमा र महाशाखामा तालाबन्दी छ ।
अहिले आर्थिक प्रशासन महाशाखाको तालाबन्दी भने खोलिएको छ । दसैँ तिहारको समयमा शिक्षक कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि उक्त महाशाखाको ताला खोलिएको हो । त्यो बाहेक सबै क्षेत्रमा तालाबन्दी कायमै छ ।