स्पेनिस फुटबल प्रशिक्षक हटाउनु पर्ने माग गर्दै १५ महिला खेलाडीले दिए राजीनामा

काठमाडौ । असोज ७, स्पेनिस महिला राष्ट्रिय फुटबल टिमका १५ जना खेलाडीले प्रशिक्षक जर्ज भिल्दालाई हटाउन माग गरेका छन् ।उनीहरुले प्रशिक्षकको रणनीति, निर्णय र पछिल्लो समयको नतिजाले आफूहरुलाई चित्त नबुझेको भन्दै बिहीबार राजीनामा दिएका हुन् ।
भिल्दा टिममा रहँदा आफूहरुको मानसिक स्वास्थ्य र भावनात्मक स्थितिलाई नकरात्मक प्रभाव पारेको भन्दै उनीहरुले राष्ट्रिय टिमबाट राजीनामा दिएका हुन् ।
रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ)ले भने खेलाडीलाई राष्ट्रिय टिमको प्रशिक्षक माथि प्रश्न उठाउने अधिकार नभएको बताएको छ । उसले भनेको छ, ‘प्रशिक्षकको विषयमा निर्णय लिने काम उनीहरुको जिम्मेवारी भित्र आउँदैन । यसरी निर्णय लिनु फुटबलमा द्वन्द्व पैदा गर्नु हो । यो फुटबल विकासका लागि हानिकारक छ ।’
फेडेरेसनले राजीनामा दिएका खेलाडीको माग अनुसार प्रशिक्षक नफेरिने भन्दै उनीहरुलाई टिममा नबोलाउने पनि बताएको छ । टिममा फर्कन चाहेमा उनीहरुले माफी माग्नु पर्ने शर्त फेडरेशनले अघि सारेको छ ।
यो घटना विश्वभरको महिला फुटबलमा एक अकल्पनीय घटना भएको भन्दै फेडरेशनले उनीहरुको सट्टामा अब युवा खेलाडीलाई टिममा राख्ने तयारी गरेको छ । ‘कति धेरै युवा खेलाडी छने, जसले स्पेनिस जर्सी लगाएर खेल्नमा गौरव गर्छन’, फेडेरेसनले भन्यो ।
४१ वर्षीय प्रशिक्षक भिल्दा २०१५ देखि राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा कार्यरत छन् । उनकै प्रशिक्षणमा स्पेनिस महिला टिम २०२२ को युरोमा क्वाटर फाइनलसम्म पुगेको थियो । स्पेनले घरेलु मैदानमा अक्टोबर ७ र ११ मा स्विडेनसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने तयारी छ ।