नेपालमा पर्वतीय पर्यटनको महत्त्व ठूलो रहेको भन्दै, ट्रेकिङ क्षेत्र मास्न नहुने : टान अध्यक्ष

सहयात्रा टिभी

काठमाडौ । असोज १०, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल ९टान० का अध्यक्ष निलहरि बास्तोलाले सडक निर्माण गर्ने नाममा ट्रेकिङ क्षेत्र मास्न नहुने बताउनुभएको छ ।

आज सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष बास्तोलाले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय पालिकाले सडक बनाउने नाममा ५० वर्ष पुराना पर्वतीय ट्रेकिङ गन्तव्यको अस्तित्व मेटाउने काम गरेको गुनासो गर्नुभयो ।

अध्यक्ष बास्तोलाले ३१ दिनको पर्वतीय ट्रेकिङ गन्तव्य रहेको अन्नपूर्ण राउन्डलाई सडक बनाउने नाममा भत्काएर अहिले पाँच दिनको बनाइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सडक आवश्यक भयो भन्दैमा विश्वका १० नम्बरमा पर्ने पर्वतीय ट्रेकिङ गन्तव्यहरूको अस्तित्व मेटाउन नमिल्ने बताउनुभयो ।

रोजगारीको सिर्जनालगायत अन्य प्रचुर सम्भावना रहेको सिन्धुपाल्चोको जुगल हिमालको प्रचारप्रसार गर्न आवश्यक रहेको अध्यक्ष बास्तोलाको भनाइ छ । उहाँले जुगल हिमालमा पर्वतीय गन्तव्यको लागि प्रचारप्रसार गर्न टानले सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

नेपालमा पर्वतीय पर्यटनको महत्त्व ठूलो रहेको भन्दै सरकारले पर्वतीय पर्यटन क्षेत्रको विकासमा जोड दिनु आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रकाशित : 26 September, 2022

प्रतिक्रिया दिनुहोस्