नेपाली मुद्रा इतिहासमै कमजोर, डलरको मूल्य १३१ रुपैयाँ नाघ्यो
काठमाडौं । असोज १३, नेपाली रुपैयाँ ऐतिहासिक रुपमा कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार बिहीबारको लागि एक अमेरिकी डलरबराबार १३१ रुपैयाँ ४१ पैसा पुगेको छ ।
मंगबारभन्दा केही सस्तो भएर बुधबार एक अमेरिकी डलर बराबर १३० रुपैयाँ ८४ पैसा भएकोमा मंगलबार एक अमेरिकी डलरबराबर १३० रुपैयाँ ९० पैसा रहेको थियो ।
यसैगरी शुक्रबार एक अमेरिकी डलरबराबर १२९ रुपैयाँ ६८ पैसा थियो भने त्यसपछि महँगो भएर शनिबार, आइतबार र सोमबार १ डलरको १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो ।
नेपालले भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमय दर स्थिर राखेको छ । त्यसैकारण भारतीय मुद्रा कमजोर भएका कारण नेपाली रुपैयाँ पनि कमजोर भएको हो । यसअघि ५ साउनमा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ पुगेको थियो। त्यसपछि विस्तारै घट्न थालेको अमेरिकी डलरको भाउ १ सय २६ रुपैयाँसम्म झरेको थियो।
पछिल्लो समय रूस–युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा डलर महँगो बन्दै गएको छ । अमेरिकी डलर बलियो भएपछि भारतीय रुपैयाँलगायत विश्वका अन्य मुद्रा कमजोर हुँदै गएका छन् । विश्व बजारमा नै डलर बलियो हुँदै जाँदा शनिबार १ डलरबराबर ८०.९१ भारू पुगेको भारतीय रिजर्भ बैंक (आरबीआई) ले जनाएको छ भने शुक्रबार ८०.७२ भारू थियो । बुधबार १ डलर बराबर ८१.६२ भारू पुगेको छ ।