दशैंका लागी लत्ताकपडा पाइने सस्तो वजार

काठमाडौं । असोज १३, एकसरो नयाँ लुगा फेर्न दशैं नै कुर्नुपर्ने बाध्यता त नहोला । तर दशैं भन्नासाथ मीठो खाने र राम्रो लगाउने चाड भन्ने गरिन्छ । हुन पनि दशैंमा नयाँ लुगा लगाउनुको खास आनन्द पनि छ ।
दशैंमा सबैजसो व्यक्ति नयाँ-नयाँ लुगामा ठाँटिन्छन् । दशैंमा नयाँ लुगा लगाउने प्रचलनले गर्दा यतिबेला लत्ताकपडाको बजार उत्कर्षमा पुग्ने गर्छ ।
यद्यपि लत्ताकपडाको यो बजारलाई पनि महंगीले छोपिसकेको छ । यस्तो महंगीमा कसरी सस्तो लुगाफाटो जोहो गर्ने रु धेरैको मनमा उब्जिने प्रश्न हो यो । अतः काठमाडौंमा केही यस्ता बजार छन्, जहाँ तुलनात्मक रुपमा सस्तो मूल्यका लत्ताकपडा पाइन्छ ।
समाजकल्याण परिषद्बाट सञ्चालित भृकुटीमण्डप खुला बजारमा सस्तो मूल्यमा लत्ताकपडा किन्न सकिन्छ । भृकुटीमण्डपमा कपडाका साथै घरायसी प्रयोजनका लागि आवश्यक सबै सामग्री पाइन्छन् ।
कलंकीमा रहेको एनबीटीसी पनि अन्यबजारको तुलनामा सस्तो बजार हो । दशैं तिहारमा एनबीटीसीमा सस्तोमा लत्ताकपडा किन्न आउने सर्वसाधारणको भीड लाग्ने गर्छ । यहाँ होलसेल बजारका लागि समेत सस्तो मूल्यमा सरसमान पाइन्छ ।
काठमाडौंको मुख्य व्यापारिक हब असन, महाबौद्ध र इन्द्रचोकमा पनि सस्तो मूल्यमा सामान पाइन्छ । अन्य बजारको तुलनामा सस्तोमा सामान पाइने हुँदा यहाँ सर्वसाधारणको घुइँचो लाग्छ।
कोटेश्वरमा रहेको सुन्दरबजार सस्तो बजारका रुपमा परिचित छ । उपत्यकाबाट पूर्वी क्षेत्रको मुख्य नाका भएकाले पनि कोटेश्वर व्यापारिक केन्द्र बनेको छ ।
लगनखेलको मिनीबजार पुरानो र सस्तो बजारका रुपमा परिचित छ । मिनिबजारमा चाडबाडका बेला लत्ताकपडाका साथै घरायसी सामग्री किन्ने सर्वसाधारणको भीड लाग्ने गर्छ ।
बानेश्वरमा सञ्चालित फुटपाथ बजारलाई काठमाडौं महानगरपालिकाले व्यवस्थित गर्ने भन्दै भित्रका सटरमा सारेको छ ।