गोरखाको फूलपाती  हनुमानढोका दशैँघरमा पठाइयो

सहयात्रा टिभी

गोर्खा । असोज १६, गोरखकाली मन्दिरको दशैँघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँघरमा फूलपाती लगिएको छ । गोर्खामा विधिपूर्वक गएराति संंकलन गरिएको फूलपाती आज बिहान मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।

गोरखकाली मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गाेर्खा नगरपालिका वडा नम्बर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाण्डौ पठाइएको गोर्खा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए ।

दरबार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा फूलपाती लिएर काठमाण्डौ ल्याए ।

फूलपाती पठाउने क्रममा बाजागाजासहित हर्षोल्लास मनाइएको थियो । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गाेर्खाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो ।

उनले विसं १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गरेका थिए । त्यतिबेला गोर्खा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो ।

राणाकाल सुरु भएपछि फूलपाती लैजाने परम्परा अवरुद्ध भएको थियो । जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको गाेर्खा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए ।

काठमाण्डौ र गाेर्खालाई पृथ्वीराजमार्गले जोडेपछि भने मोटरमार्फत फूलपाती काठमाण्डौ पठाउने चलन सुरु भएको उनको भनाइ छ । यसै परम्परालाई निरन्तरता दिँदै यो वर्ष पनि मोटरमार्फत फूलपाती काठमाण्डौ पठाइएको गाेर्खा दरबार हेरचाह अड्डाका प्रमुख भुषालले बताए ।

फूलपाती काठमाण्डौ लैजाने परम्पराको निरन्तरताले ऐतिहासिक पक्षको संरक्षण हुनुका साथै पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने गाेर्खा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बताए । पृथ्वीनारायण शाहको पालादेखि चलेको परम्परालाई निरन्तरता दिनु पाउनु खुसीको कुरा भएको उनले बताए ।

प्रकाशित : 2 October, 2022

प्रतिक्रिया दिनुहोस्