राधा मौसी ६ हजार उम्मेदवारमध्ये एक मात्र तेस्रोलिंगी
काठमाडौं । असोज २५, प्रदेशसभा सदस्य पदका उम्मेदवार एक जना भने लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायका छन् । नेपाल जनता पार्टीले मधेश प्रदेश सभाका लागि सर्लाही क्षेत्र नम्बर २ (ख) बाट तेस्रो लिंगी महेन्द्र शाही तेली (राधा मौसी) लाई उम्मेदवार बनाएको छ ।
निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार ४ मंसिरको चुनावमा लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट उम्मेदवारमध्ये एक मात्र तेस्रोलिंगी छन् ।
आयोगको प्रारम्भिक तथ्यांक अनुसार प्रतिनिधिसभा र प्रदेश सभाका लागि करिब ६ हजार जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगको तथ्यांक अनुसार मधेश प्रदेशमा आफूलाई अन्य (यौनिक तथा लैगिंक अल्पसंख्यक) भनेर चिनाउने ७० जना मतदाता छन् । आयोगका अनुसार लैगिंक तथा यौनिक अल्पसंख्यक मतदाता सबैभन्दा धेरै मधेश प्रदेशमा छन् ।
प्रदेश सभाका लागि प्रत्यक्ष चुनावी मैदानमा उत्रिएकी राधा मौसीले ०७४ को स्थानीय चुनावमा मलगंवा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।
६० वर्षकी राधा मौसी आफूलाई समाजसेवीका रुपमा चिनाउँछिन् । गाउँका दुःखी, गरिबको सहायता गर्ने , बिबाह, ब्रतबन्धमा सहयोग गर्ने, कोही दुःखी बिरामीलाई सहयोग गर्ने बताए ।
नागरिकतामा उनको लैगिंक पहिचान पुरुष लेखिएको छ । तर, उनी आफूलाई महिला भनेर चिनाउँछिन् । भन्छिन्, ‘त्यसैले त म सबैकी राधा मौसी भएँ ।’
सर्लाहीको मलगंवा नगरपालिका– ९ कि राधा मौसी आफू चुनाव जित्नेमा ढुक्क देखिइन् ।