बर्दिया राजापुरमा बाढी र डुबानका कारण ८ सय घर प्रभावित

सहयात्रा टिभी

काठमाडौं । असोज २५, अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका झन्डै आठ सय घर डुबानमा परेका छन् ।

स्थानीयवासीका अनुसार डुबानमा परेर धेरैजसो धरको क्षति दौलतपुर गाविसमा भएको छ । अहिले पालिका र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयवासीले बताए ।

कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको छ । गएको सोमवार बेलुकादेखि पसेको कर्णाली नदीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन् ।

गएको वर्षको बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई यस वर्षको चुनावमा पश्चिमका नागरिकले परास्त गर्ने उनीहरू बताउँछन् ।

बस्ती नै डुबानमा पर्दासमेत सरकारले उद्धार नगरेको र राहत नदिएको भन्दै स्थानीयवासी आक्रोशित छन् । अविरल वर्षाका कारण पश्चिम तराईका जिल्लामा बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेको छ ।

गएको पाँच दिनयता भइरहेको वर्षाले देशभरका पहाडी जिल्लामा पनि पहिरोको जोखिम बढाएको छ । खहरे खोलामा आएको बाढी र विभिन्न ठाउँमा गइरहेको पहिरोका कारण गाडी आउजाउमा समस्या भइरहेको छ ।

 

 

प्रकाशित : 11 October, 2022

प्रतिक्रिया दिनुहोस्