कच्चा पदार्थ निर्यातमा भारतले रोक लगाउदै असोज ३० गतेदेखि आईसीपी सञ्चालनमा

काठमाडौँ । असोज २६, भारतले असोज ३० गतेदेखि एकीकृत जाँच चौकी (आईसीपी) प्रयोग गरेर मात्रै सामान आयात गर्न दिने भएको छ ।
भारतीय भन्सारले सूचना निकालेर यस्तो जानकारी दिएपछि नेपाली आयातकर्ता र व्यवसायी सामान्य ल्याउन समस्या हुने भन्दै तनावमा छन् ।सडक यातायातको माध्यमबाट हुने व्यापार सहजीकरणका लागि नेपाल र भारत दुबैतर्फ (आईसीपी) सञ्चालनमा छ ।
नेपालका लागि रक्सौल यार्डमा महिनामा ४० देखि ५० ¥याक डस्टी कार्गो अर्थात् औद्योगिक कच्चा पदार्थ आउने गरेको आयातकर्ताहरु बताउँछन् ।भारतीय रेलमार्गसँग जोडिएको सिर्सिया सुख्खा बन्दरगाह वि।सं। २०६१ सालदेखि नै सञ्चालनमा छ । दुवै भन्सार यार्डमा धुलोजन्य औद्योगिक कच्चा पदार्थ (डस्टी कार्गो) व्यवस्थापन गर्ने स्थल छैन ।
जसले गर्दा उद्योगी तथा आयातकर्ताहरुले विभिन्न समयमा डस्टी कार्गो आयातमा समस्या भोग्दै आएका छन् । भारतीय पक्षले कहिले रक्सौल यार्डमा डष्टी कार्गो ढुवानीमा रोक लगाउने त कहिले रक्सौल नाकाबाट समान निर्यात गर्न नदिने भनेर दुःख दिने गरेको व्यापारीहरु बताउँछन् ।
वीरगञ्ज नाकामा डस्टी कार्गोको उचित व्यवस्थापन गर्ने ठाउँ नहुँदा ५ वर्षदेखि अनेक समस्या झेल्दै आएको व्यवसायीहरु बताउँछन् । १ जुलाई २०२२ देखि नै रक्सौल ल्याण्ड कष्टम (एलसीएस) हुँदै सामान निर्यातमा रोक लगाउने सूचना भारतीय पक्षले जारी गरेको थियो ।
रक्सौल रेल्वे साइडिङमा अनलोड भएका सामान वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुल हुँदै आउने गरेकोमा आईसीपी हुँदै ल्याउन भनिएको थियो । नेपालका आयातकर्ता र व्यवसायीहरुले भारतीय पक्षले आवश्यक पूर्वाधार विना एकतर्फी निर्णय लिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
नेपाल र भारत दुवै तर्फका भन्सार तथा अन्य सरोकारवाला निकायका अधिकारीसँग अनुरोध गरेर एक महिना समय थप गर्न सफल भएका थिए । पुनः भारतीय भन्सारले सूचना निकालेर १६ अक्टोबर २०२२ देखि अर्थात् असोज ३० गतेदेखि एलसीएस पोर्ट अफ रक्सौलबाट कुनै पनि कार्गो आयात निर्यात नहुने जनाएको छ ।