हृदय स्पर्शी ‘महापुरुष’ एकल पिताको कथा

सहयात्रा टिभी

काठमाडौं । असोज २७, हृदय स्पर्शी ‘महापुरुष’ एकल पिताको कथा ट्रेलर शुरु भएको छ ।धेरैलाई लाग्न सक्छ, ट्रेलरमा नै कथाको रहस्य खुलाएपछि बाँकी के रहला रु यसको जवाफ चाहिं फिल्म सार्वजनिक भएपछि नै पाउन सकिनेछ ।

आफ्ना लालाबालाको सुरक्षित, सुखी र सुन्दर जीवनका लागि आफूलाई रित्याइरहेका पिताले जिन्दगीको उत्तराद्र्धमा पुगेपछि किन सम्बन्धका नयाँ आयाम खोज्छन् र ? कठिनतापूर्वक गुज्रिने चिसा रातहरुमा किन न्यानोपनको चाह राख्छन् र ? यिनै सेरोफेरोमा बुनिएको कथासँगै ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ ।

श्रीमती वा श्रीमान् गुमाइसकेका व्यक्ति, जो जीवनको उत्तराद्र्धमा छन् । के उनीहरुको अब कुनै रहर बाँकी नहोला र ? के उनीहरुसँग खुसी र उमंग बाँकी नहोला र ? के उनीहरुसँग जीवन बाँकी नहोला र ? ट्रेलरमा मोटामोटी कथाको खाका भेटिन्छ ।

आवरणमा ‘कमेडी’ सिनेमा झैं लाग्छ । पात्र र परिवेश हास्यप्रधान देखिन्छन् । तर हाँसोको यो खोलभित्र जीवनको निस्सासिंदो कथा लुकेको छ । यस्तो कथा, जसको अन्तर्यमा एकल पुरुष (वा महिला पनि)को रहर र विवशताको आँधी मडारिएको छ ।

अक्सर सिनेमा, साहित्यमा युवा-प्रेमको कथा विकाउ मानिन्छ । प्रेम र रोमान्स, यौन र सम्बन्ध, आकांक्षा र परिबन्ध, मित्रता र धोकाधडी आदिले सिर्जना गर्ने अन्र्तद्वन्द्वलाई केन्द्रमा राखेर घटनाक्रम बुनिन्छ ।

किनभने रसरंगको बजारमा रंगीन जीवनकै कथाले प्रधानता पाउँछ । रसरंग निख्रिंदै गएका, बुढ्यौलीले छोप्दै लगेका खस्रा पात्रको अँध्यारा कथाहरु बिरलै समेट्ने गरिन्छ । यद्यपि प्रदीप भट्टराईले भने त्यही पात्र र कथालाई उधिन्ने यत्न गरेका छन् ।

पिताको भूमिकामा रहेर छोराछोरीको पालनपोषण गरिरहेका एक बुढो मान्छे, जसको अन्तर्निहित जिजीविषालाई उनै सन्तानले अनुभूत गरिदिंदैनन् । त्यो बुढो मान्छे पनि आफ्नो जीवनको मूल्य यसै गुमाउन चाहँदैनन् ।

बाँकी जीवनमा प्रेम, सामीप्य र साथ खोज्छन् । तर समाज र सन्ततिले उनलाई एक आदर्श पिताबाट ‘चरित्रहीन’ पात्रको कोटीमा झार्छन् । तब एउटा विवश पात्रसँग जीवन अभिव्यक्तिको एउटै कुरा बाँकी रहन्छ, आँसु ।

हाँसोको आवरणमा तयार पारिएको आँसुको कथा लाग्छ, महापुरुष । हरिवंश आचार्यले ‘बुढो पात्र’ मा आफूलाई सम्पूर्ण रुपले रुपान्तरण गरेका छन् । त्यो पात्रमा हरिवंश कहींकतै छैनन्, कस्तो जीवन्त रुपान्तरण । त्यसबाहेक अरु थुप्रै पात्र देखिन्छन्, जसको अभिनय एकदमै गज्जब नलागे पनि स्वभाविक लाग्छ । संवाद र प्रस्तुतिमा महकै यसअघिका टेलिशृंखला वा प्रदीपको शत्रुगतेको धङ्धङी मिसिएको छ ।

प्रकाशित : 13 October, 2022

प्रतिक्रिया दिनुहोस्