दाङको राजपुरमा बाढीका कारण सबैभन्दा धेरै क्षति, दशवटै पालिका प्रभावित

काठमाडौं । असोज २८, अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार एक सय ७८ रहेको छ ।
दाङका १० स्थानीय तहमध्ये देउखुरीका चार पालिकामा सबैभन्दा बढी क्षति भएको छ । यसैगरी अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी दाङमा नौ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार असोज १८ गते रातिदेखि भएको वर्षापछिको बाढी र पहिरोमा परी नौ जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा सबैभन्दा धेरै बङ्गलाचुलीका चार, घोराही उपमहानगरपालिकाका तीन तथा राप्ती र बबई गाउँपालिकाका एक–एक जना रहेका प्रहरी उपरीक्षक वलीले बताए ।
मानवीय क्षति व्यहोरेका परिवारका सदस्यलाई नेपाल सरकारको निर्णयअनुसार प्रतिव्यक्ति रु दुई लाखको दरले राहत उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए । पूर्णरुपमा घर भत्किएकाको हकमा रु १५ हजारदेखि रु २० हजार राहत दिइने व्यवस्था छ ।