प्रचारप्रसारका लागि कात्तिक १८ गतेभन्दा अघि कोणसभा र आमसभा नगर्न आयोगको चेतावनी

काठमाडौँ । असोज ३१, निर्वाचन आयोगले आउँदो कात्तिक १८ गतेभन्दा अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने बताएको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ गतेदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने बताउनुभयो ।
यदि कात्तिक १८ गतेभन्दा अगाडि कोणसभा र आमसभा गरेर चुनावको आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने उहाँले चेतावनी दिनुभएको छ ।
निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको पनि आयुक्त भण्डारीको भनाइ छ ।
आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी आइरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘थुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर जानुभयो भन्ने उजुरी आएका छन् । भोजभतेर गर्न पनि सुरु भएको छ भन्ने उजुरी परेका छन् । उजुरीको छानबिन गरिरहेका छौँ । चुनाव प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन भएमा आयोगले कठोर कारबाही गर्छ ।