विशेष समारोहमा लगाइने औपचारिक पहिरन भाडामा पाइने शुल्क कति ?

काठमाडौँ । कात्तिक ३, विवाह वा कुनै विशेष समारोहमा लगाइने औपचारिक पहिरन एक पटक लगाएपछि दोहोर्याएर लगाउने चलन कमै हुन्छ । जस्तो, विवाहमा दुलहीले लगाउने एउटै गाउनको मूल्य कम्तीमा ८० हजार रुपैयाँ पर्छ । एक दिन वा एक पटकका लागि यति खर्चिलो लुगा लगाउन कति सम्भव होला ? जबकि यस्ता पहिरन निकै महंगो पर्छ ।
उपभोक्ताको यस्तै मनोविज्ञानलाई बुझेर अहिले सहरमा ‘भाडाको लुगा’ उपलब्ध हुन थालेका छन् । खासगरी महंगा औपचारिक पहिरन निश्चित समयका लागि भाडामा लिन पाइन्छ ।
पुलचोकस्थित एन्टिडोट नेपालमा पनि छानी छानी भाडामा ‘पार्टी वेयर’ पाइन्छ । वास्तवमा धेरैलाई पार्टीमा एक पटक लगाइसकेको कपडा फेरि अर्को पार्टीमा लगाउन मन लाग्दैन । पटक पटक नयाँ कपडा सिलाउन झन्झट त हुन्छ नै, आर्थिक भार पनि थपिन्छ । यस्तै समस्यालाई मध्यनजर गरेर एन्टिडोट सञ्चालन गरेको एन्टिडका सञ्चालक मनिषजंग थापा बताउँछन् ।
यसैगरी क्लासिक कर्भले पनि विगत आठ वर्षदेखि पार्टी वेयर कपडा भाडामा दिंदै आएको छ । पार्टी वेयर साडी, कुर्ता लेहेंगा, गाउन र बेहुलीको लागि ब्राइडल साडी, लेहेंगा भाडामा लिन सकिन्छ । यहाँ बेहुलाको लागि दौरा सुरुवाल पनि भाडामा पाइन्छ ।
कति खर्च, कस्तो सर्त ??
कपडा रेन्टले कुनै पनि पहिरन कम्तीमा तीन दिनको लागि भाडामा दिने गर्छ । यदि त्यो भन्दा बढी अवधिका लागि भाडामा लिने हो भने सोही अनुसार शुल्क लाग्ने गर्छ ।
कपडा रेन्टबाट महिलाको पहिरन एक पटक भाडामा लिंदा एक हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म पर्छ । यसैगरी पुरुषको पहिरन ८०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्छ । दुलही र दुलहाका लागि थरीथरी डिजाइनको पहिरन कपडा रेन्टले भाडामा दिंदै आएको छ ।
तीन दिनपछि प्रयोग गरेको कपडा जस्ताको तस्तै फर्काउनुपर्ने सञ्चालक समुद्रराज अर्याल बताउँछन् । कपडामा दाग लागेको, च्यातिएको पाइएमा त्यसको मर्मतका लागि थप शुल्क तिर्नुपर्ने हुन्छ ।
कपडा रेन्टले भर्खरै एउटा नयाँ सुविधा पनि ल्याएको छ । कसैले ब्राइडल हेभी ड्रेस बनाएर एक पटक मात्र प्रयोग गरेको छ भने कपडा रेन्ट मार्फत त्यसलाई भाडामा लगाउन सकिन्छ । कपडा रेन्टमा १८ देखि ३५ वर्ष उमेर समूहका लागि उपयुक्त कुर्ता, लेहेङ्गा, साडी र गाउनका १२० कलेक्सन छन् ।