वीर अस्पतालमा तनाव चिकित्सकीय लापरबाही भन्दै विरोध

काठमाडौँ । कात्तिक ३, बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ ।चिकित्सकले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको बताएका छन्, तर बिरामीका आफन्तले चिकित्सकीय लापरबाही भन्दै विरोध गरेका छन् ।

मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी भएको थियो । ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तय भएको थियो ।
अस्पताल स्रोतका अनुसार मिर्गौला प्रत्यारोपण सर्जन डा. पारसमणि श्रेष्ठ र डा. अनिल श्रेष्ठले गर्दै थिए । उनीहरु दुवै वीरमा मिर्गौला प्रत्यारोणका लागि अनुमति पाएका चिकित्सक हुन् ।
अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो । ‘प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो देखिएको थियो । तर, निकालेर हेर्दा मिर्गौला प्रत्यारोपणका लागि योग्य थिएन’, डा. बस्नेतले भने, ‘केही न केही रोग छ होला । यो कुरा छानबिनमा पुष्टि होला ।’
अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन् ।
बिरामीका आफन्तले उक्त घटनामा संलग्न चिकित्सकलाई कारबाहीको माग गरेका छन् । बिहीबार शल्यक्रियामा संलग्न चिकित्सक, बिरामीका आफन्त, अस्पतालका प्रशासनबीच छलफल भइरहेको छ । निमित्त प्रमुख डा. बस्नेतले छानबिन समितिको प्रतिवेदनका आधारमा अघि बढ्ने प्रतिक्रिया दिए ।