स्वदेशी तथा विदेशी पर्यटकले भरिभराउ सगरमाथा क्षेत्र

काठमाडौं । कात्तिक ४, विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकले भरिन थालेको छ । सगरमाथा लगायतका हिमाली दृश्यको अवलोकन गर्ने पर्यटकको संख्या बढेसँगै त्यस क्षेत्रका व्यवसायीहरु उत्साहित बनेका छन् ।
यतिबेला सोलुखुम्बुको खुम्बुक्षेत्र पुग्ने पर्यटक दिनहुँ बढिरहेका छन् । ट्रेकिङको सिजन सुरु भएसँगै पर्यटन व्यवसायीहरु पनि लुक्ला पुगेका छन् ।पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायीहरु पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् ।
लुक्लामा अहिले दैनिक ३२ वटा भन्दा बढी उडान हुने नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले बताउनुभयो । खुम्बुमा वर्षको दुई पटक वैशाख, जेठ, असार र असोज कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । पछिल्लो एक महिना असोजमा मात्रै १२ हजार ४ सय ५१ जना पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक छ ।