रास्वपाले संसदीय दलको नेताका लागि उम्मेदवारी आह्वान

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ६, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेताका लागि उम्मेदवारी आह्वान गरेको छ । खसेको कुल मतको बहुमत ल्याउने उम्मेदवार दलको नेता हुने विधानको व्यवस्था छ ।

दलको नेताका लागि समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरुले ७ कात्तिकको साँझ ५ बजेसम्म आवेदन दिनसक्ने छन् । पार्टी विधानको धारा ७२९१० बमोजिम प्रारम्भीक निर्वाचन गर्न लागिएको रास्वपाका प्रवक्ता डा। मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाको विधानको धारा ७२९१० मा संघीय निर्वाचन अगावै पार्टीको तर्फबाट संघीय निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ छनोट भएका उम्मेदवारहरुमध्ये इच्छुकबीच दलको नेता छनोटका लागि निर्वाचन गर्ने उल्लेख छ ।

दलको नेता छान्न हुने मतदानमा मतदाता चाहिँ पार्टीको सम्पूर्ण साधारण सदस्य हुने भनिएको छ । रास्वपाले अहिलेसम्म पार्टी सदस्यता वितरण गरेको छैन । पार्टीको वेबसाइट, मोबाइल एपमा दर्ता भएका र अफलाइन सबै गरेर २ लाख हारहारी व्यक्ति दर्ता भएको र उनीहरुले मत दिने छन् ।

रास्वपाले समानुपातिक पद्धतिको बन्द सूचीमा ११० जनाको नाम बुझाएको छ भने प्रत्यक्षतर्फ १३० क्षेत्रमा उम्मेदवार उठाएको छ । उनीहरुमध्ये प्रत्यक्षतर्फ को विजयी हुन्छन् भन्ने अनुमान गर्न गाह्रो छ भने समानुपातिकतर्फ सांसद हुन देशभर खसेको मतको न्यूनतम मत (थ्रेस होल्ड) कटाउनुपर्ने हुन्छ ।

 

 

प्रकाशित : 23 October, 2022

प्रतिक्रिया दिनुहोस्