विप्लवका नेता कार्यकर्ताले आफ्नो नामका पछाडि ‘सी’ राख्न थाले

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक ६, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताले आफ्नो नामका पछाडि ‘सी’ राख्न थालेका छन् । पार्टीको नौ महाधिवेशनमा विप्लवले जात व्यवस्थाको अन्त्य गर्न हरेक पार्टी सदस्यले नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेका थिए ।

जातिय व्यवस्थाले जकडिएको नेपाली समाजमा विप्लवले थप अर्को नयाँ थरको नामकरण गरेका छन् । कम्युनिस्ट पार्टीले जात व्यवस्थाबाट हुने विभेदलाई अन्त्य गर्नुपर्नेमा उल्टै जात व्यवस्थालाई प्रसय दिएका छन् ।

विप्लवले महाधिवेशन हलबाट विशेष प्रस्तावको रुपमा नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेपछि पार्टीका कार्यक्रम, डकुमेन्ट र सामाजिक सञ्जालमा ‘सी’ राख्न थालेका छन् ।

कम्युनिष्टलाई इंगित गरेर सी नाम राखिएको सो पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीले बताए । ‘नामको पछाडि सी राख्नुको कारण कम्युनिष्ट अर्थात साम्यवादी विचार प्रतिनिधित्व गर्न राखेको हौं । यसको अर्को अर्थ छैन ।’

तत्कालीन माओवादीले जनयुद्धका क्रममा जात व्यवस्थाको अन्त्य गर्ने भन्दै छदम भेषमा उपनाम राख्ने गरेका थिए । जातमा महिला पुरुष मात्रै हुने भएकाले नामको पछाडि थर नराखेर उपनाम राख्ने गरेका हुन् । अहिले फेरि विप्लवले नामका पछाडि सी राखेर नयाँ थरको नामकरण गरेका हुन् ।

 

प्रकाशित : 23 October, 2022

प्रतिक्रिया दिनुहोस्