२०० युनिटसम्मको बिजुली निःशुल्क गर्ने एकीकृत समाजवादीको घोषणा

काठमाडौँ । कात्तिक १४, नेकपा एकीकृत समाजवादी पार्टीले निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिहरूलाई जलविद्युत् कम्पनी सेयरधनी बनाउने घेषणा गरेको छ । सोमबार संघीय र प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने बताएको हो ।
तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र बिजुली उपभोगमा सहुलियत दिन पहल गर्ने समाजवादीले घोषणा गरेको छ ।
यस्तै सहर तथा ग्रामीण क्षेत्रका सम्पूर्ण विद्युत् प्रसारणलाइन भूमिगत गर्ने घोषणापत्रमा उल्लेख छ । ‘विद्युत् चुहावट रोक्न र जोखिम न्यून गर्न अत्याधुनिक प्रविधियुक्त सुरक्षित तार उपयोग गर्ने र सहर तथा ग्रामीण क्षेत्रमा प्रयोग हुने सम्पूर्ण विद्युत् प्रसारण लाइन भूमिगत गर्न जोड दिइने छ’ घोषणापत्रमा भनिएको छ ।
ग्रामीण विद्युतीकरणलाई अभियानका रूपमा सञ्चालन गर्ने र विशेष आर्थिक क्षेत्रहरू तथा उद्योग ग्रामहरूका लागि डेडिकेटेड विद्युत् लाइन जडान गरिने छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महसुलमा छुट दिने व्यवस्था मिलाइने घोषणापत्रमा उल्लेख छ ।