प्राधिकरणको अल्टिमेटम अनुसार ४५ दिनभित्रमा पोलमा तानिएका तार व्यवस्थापन गर्ने

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १५, नेपाल विद्युत् प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका बिजुलीका पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ ।

प्राधिकरणले आज मङ्गलवार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रवाहका लागि बिजुलीका पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै त्यहीअनुसार व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई समयसीमा दिएको छ ।

बिजुलीको पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभाबी झुन्ड्याइएका उपकरणहरूका कारण सहरलाई कुरुप बनाएको छ । आगलागीलगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएको र यसबाट प्राधिकरणले प्रवाह गरिरहेको विद्युतीय सेवामा समेत अवरोध उत्पन्न भएको छ ।

प्राधिकरणले अप्टिकल फाइबररकेबल र विद्युत् लाइन तथा भू–सतहबीचको न्यूनतम दुरी तोकेको छ । ४०० भोल्टको नाङ्गो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दुरी क्रमशः ८० र ३० सेन्टिमिटर हुनुपर्ने छ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दुरी दुई मिटर हुनुपर्ने छ ।

अन्य ४०० भोल्टका उपकरणरूसँगको न्यूनतम दुरी ७५ सेन्टिमिटर हुनुपर्ने छ । अप्टिकल फाइबररकेबल र जमिन सतहबीच पैदलमार्गमा २ दशमलव ४ मिटर र सडकमा ५ दशमलव ५ मिटर तोकिएको छ । न्यूनतम दुरी कायम कायम नगरि सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन दिन रोक लगाइएको छ ।

राउटर, अप्टिकल फाइबर वितरण बक्सजस्ता उपकरणहरू पोलको एउटैमात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने छ । प्रयोगमा नरहेका तार र अन्य उपकरणहरू तत्काल हटाउनुपर्ने छ । पोलहरूमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरू तान्दा समेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुन्ड्याउन नपाउने व्यवस्था गरिएको छ ।

सेवा प्रदायकहरूले आफूहरूको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्ने छ । पोलमा जडित उपकरणहरूमा समेत मार्किङ गर्नुपर्ने छ । सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसङ्ख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्ने छ । तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केबलहरू हटाउनुपर्ने छ ।

 

प्रकाशित : 1 November, 2022

प्रतिक्रिया दिनुहोस्