केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जापानको अध्यागमन सेवा विभागले वैदेशिक रोजगार मेला २०२२ आयोजना गर्दै

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १५, जापानमा काम गर्न चाहने विदेशी नागरिकलाई लक्षित गर्दै जापानको अध्यागमन सेवा विभागले वैदेशिक रोजगार मेला २०२२ आयोजना गर्ने भएको छ ।

आउँदो मंसिर १० र ११ (नोभेम्बर २६ र २७) गते अनलाइन माध्यममार्फत जापानले वैदेशिक रोजगार मेला आयोजना गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मेलामा विशेष सीप प्रणाली (एसएसडब्लु) र रोजगारदाता कम्पनीको बारेमा जानकारी दिइने छ ।

रोजगार मेलामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन । मेलामा हुने सबै कार्यक्रमहरूमा निःशुल्क दर्ता हुन सकिनेछ । मेलामा जापानमा रोजगारी गर्न चाहनेले कम्पनीसँग प्रश्नोत्तर गर्न र कम्पनीका बारेमा बुझ्न सक्नेछन् ।

सबै कार्यक्रमहरू अनलाइन उपलब्ध हुने भएकाले आफूले चाहेको जापानी कम्पनीहरूसँग प्रश्नोत्तर गर्न सकिनेछ ।  https://info-tokuteiginou.com मार्फत रोजगार मेलामा सहभागीताका लागि इन्ट्री गर्न सकिन्छ ।

इन्ट्री प्राप्त भएपछि इमेलमार्फत मेलामा सहभागी हुने सक्ने लिङ्क र अन्य विवरण पठाइने मेला आयोजकले जनाएको छ । अनलाइन जुम वेबिनारमार्फत मेला जापानी समय अनुसार बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ ।

जापानले विशेष गरी नर्सिङ केयर व्यवसाय, भवन सरसफाइ, निर्माण उद्योग, जहाज निर्माण र समुद्री उद्योग, अटोमोबाइल मर्मतसम्भार उद्योग र सामग्री, औद्योगिक मेसिनरी, विद्धुत, इलेकट्रोनिक, सूचना सम्बन्धित उत्पादन उद्योगलाई निर्दिष्ट सीपका लक्षित क्षेत्रहरू तोकेको छ ।

यस्तै उड्डयन उद्योग, आवास उद्योग, कृषि, माछा व्यवसाय, खाद्य र पेय पदार्थ उत्पादन उद्योग र रेस्टुरेन्ट पनि मेलामा समावेश हुनेछन् ।

नेपाल सरकार र जापान सरकारबीच पनि एसएसडब्लु प्रणालीमार्फत नै नेपाली नागरिकलाई जापानमा रोजगारी दिने गरी श्रम समझदारी भएको छ ।

 

प्रकाशित : 1 November, 2022

प्रतिक्रिया दिनुहोस्