पाल्पाको सत्यवती ताल क्षेत्रमा चिच्याएर वर माग्ने मेला लाग्ने

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १६, रामपुर (पाल्पा) । मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ ।

पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा यही कात्तिक १८ देखि २२ गतेसम्म मेला आयोजना गरिएको छ । हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ ।

धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिङ्गो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ । मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ ।

किंवदन्तीअनुसार एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले आफ्नो मनोकाङ्क्षा पूरा गर्ने वर मागे । बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिइन् ।

ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयवासी बताउँछन् ।

परापुर्वकालमा सत्यवती बज्यैले कुभिण्डोको भाँडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ ।

नेपालका विभिन्न जिल्ला र भारतको सुनौली, नौतुना, गोरखपुरलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा हरेक वर्ष यहाँ लाग्ने मेलामा दर्शनार्थी मन्दिरमा पूजाआजा गर्न आउने स्थानीयवासी ध्रुवप्रसाद पंगेनी बताउँछन् । चौबीस माइलदेखि झुम्सासम्मको सडकमा हुने सवारी चाप व्यवस्थापनमा जोड दिने पालिकाले जनाएको छ ।

 

प्रकाशित : 2 November, 2022

प्रतिक्रिया दिनुहोस्