नेपालको राष्ट्रिय फुटबल टिम प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त

काठमाडौँ । कात्तिक १६, झापाका प्रवेश कटुवालले नेपालको सिनियर फुटबल टिमबाट कहिले पनि खेल्न पाएनन् । उमेर समूहमै सिमित भए ।
खेल्दा खेल्दै प्रशिक्षक कोर्ष गरेका उनले घरेलु फुटबलमा भने प्रशिक्षकको रुपमा सबैभन्दा ठूलो सफलता हात पारे दुई पटक शहिद स्मारक ए डिभिजन लिग जितेर । त्यो पनि लगातार जित्नु चानचुने कुरा थिएन ।
खेलाडी जीवनमा पनि घरेलु फुटबलमा उनी अब्बल नै थिए । सन् २००० को एसियाली यू-१६ च्याम्पियनसिप छनोट चरण पार गरेर खेलेका प्रवेश यू-२३ सम्म राष्ट्रिय टिममा रहे । तर राष्ट्रिय टिममा पर्न भने उनलाई संयोग जुरेन ।
अहिले उनै प्रवेश कटुवालले सबैभन्दा ठूलो अवसर पाएका छन् नेपालको राष्ट्रिय फुटबल टिमलाई प्रशिक्षण दिने ।
नेपालले कात्तिक ३० गते काठमाडौंको दशरथ रंगशालमा पाकिस्तान विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ र त्यसका लागि प्रवेश नेपाली टिमको प्रशिक्षक नियुक्त भएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानसँगको खेल पक्का भएसँगै मंगलबार ४२ वर्षीय प्रवेशलाई प्रशिक्षक नियुक्त गर्दै नियुक्ति पत्र समेत दिइसकेको छ । प्रवेशले ३० सदस्यीय प्रारम्भिक सूची सार्वजनिक गर्दै प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् ।
३० सदस्यीय टिममा अनुभवी र युवा खेलाडीहरु समावेश गरिएको छ । मिडफिल्डर विशाल राई भने चोटका कारण टिममा नरहेको प्रशिक्षक प्रवेशको भनाइ छ ।