रोकिएको हेटौंडा सिमेन्टको उत्पादन फेरि सुरु

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १६, रोकिएको हेटौंडा सिमेन्टको उत्पादन फेरि सुरु भएको छ । आर्थिक समस्याका कारण कोइलाको आपूर्ति नहुँदा तीन महिनादेखि उत्पादन बन्द थियो ।

कोइला विक्रेतासँग अनुरोध गरेर केहि समयलाई कोइलाको व्यवस्थापन गरि उद्योग सञ्चालनमा ल्याइएको महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताए । कोइला सप्लाईका लागि बोलपत्र आह्वान गरिसकिएको उनले जानकारी दिए । भारत, भुटान, इन्डोनेसियालगायत देशबाट कोइला आउन थालेपछि उत्पादन सहज हुने उनको भनाइ छ ।

उद्योगलाई नियमित र नाफामा सञ्चालन गर्न नयाँ प्रविधिमा जानुपर्ने महाप्रबन्धक पाण्डेले बताए । जसका लागि उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि ८० करोडदेखि १ अर्ब रुपैयाँ र नयाँ प्लान्ट निर्माणका लागि ५ देखि ८ अर्ब रुपैयाँ रकम लाग्ने उनले जानकारी दिए ।

मर्मत खर्चका लागि उद्योगले आफ्नो स्वामित्वमा रहेको जग्गा बेच्न सरकारसँँग अनुमति मागेको छ । नेपाल राष्ट्र बैंकले उद्योगको जग्गा खरिद गर्न चासो देखाएकोले सरकारले जग्गा बेच्न अनुमति दिनुपर्ने उनले बताए ।

४० वर्षअघि स्थापना भएको उद्योगमा हाल २ सय १८ जना कर्मचारी छन् । उद्योग सञ्चालन भएको अवस्थामा दैनिक १० देखि १४ हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएको छ ।

 

प्रकाशित : 2 November, 2022

प्रतिक्रिया दिनुहोस्