सयपत्री फूल खेती गरि स्याङ्जामा राम्रो आम्दानी
काठमाडौं । कातिक १७, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सयपत्री फूल बिक्री गरेर राम्रो आम्दानी गरेको छ । यस गाउँपालिकामा तिहारलाई लक्षित गरी फूल खेती गरिएको थियो ।
गाउँपालिकाले फूलखेतीका लागि अनुदान उपलब्ध गराएको छ । तिहारका लागि फूल किन्न व्यापारी गाउँमा नै पुगेका थिए । यसअघि माला खरिद गर्ने किसानले गएको वर्षदेखि आफैँले फुलाएको फूल उपयोग गर्नुको साथै विभिन्न ठाउँमा बिक्रीका लागि समेत पठाएका छन् ।
गाउँपालिकाले फूलमा आत्मनिर्भरसहित आयआर्जन गर्न सिकाउने उद्देश्यले सयपत्री रोपण अभियान नै चलाएको अध्यक्ष खीमबहादुर थापाले जानकारी दिनुभयो । पालिकाका १५ ठाउँका झण्डै ६० रोपनी क्षेत्रमा व्यावसायिक रुपमा फूलखेती गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।
११ जनाले व्यक्तिगत रुपमा, होमस्टे एक र तीन वटा महिला समूहले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् । फूल खेतीका लागि पालिकाको ५० प्रतिशत अनुदान रहेको थापाको भनाइ छ ।
निरन्तरको वर्षा र तिहार छिटो परेकाले फूल फुल्ने क्रम ढिलो भए पनि किसानले राम्रो आम्दानी गरेका कालीगण्डकी गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिनुभयो । तिहारको समयमा फूल बिक्रीबाट मात्रै पालिकामा ८ लाख रुपैयाँ भित्रिएको छ ।
फूलखेतीमा आम्दानी हुने देखेर सुरु गरेको अभियान सफल भएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । सिप र जाँगर भराउन पालिकाले सहयोग गरिरहेको उहाँको भनाइ छ । यसबाट किसान आत्मनिर्भर बनेका छन् ।
सयपत्री फूलबाट कम समयमा राम्रो आम्दानी लिन सकिन्छ । विभिन्न चाडपर्व, पूजा, कर्मकाण्ड र विवाहमा पनि सयपत्रीको माग धेरै हुने भएकाले चासो बढाएको गाउँपालिकाले जनाएको छ । गएको वर्षसम्म खाली र उपयोगविहीन जग्गा अहिले फूलले रङ्गीन बनेका छन् ।
किसानले फूलरोपण सम्बन्धी ज्ञान पाएका छन् । बेरोजगार युवालाई आयआर्जन र होमस्टेका लागि प्रयोग हुने फूल उत्पादन गर्न सहज बनेको छ । चिसो हावापानी र घमाइलो ठाउँ भएकाले फूलखेती निकै राम्रो भएको छ ।