विश्वकपमा भाग लिने सबै ३२ टोलीलाई फिफाले फुटबलमा ध्यान केन्द्रित गर्न पत्र

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १८, ​विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा हुने विश्वकपमा भाग लिने सबै ३२ टोलीलाई ‘फुटबलमा ध्यान केन्द्रित गर्ने’ समय आएको बताउँदै पत्र लेखेको छ ।

नोभेम्बर २० बाट कतारमा सुरु हुने विश्वकप फुटबल विभिन्न कारणले सुरूदेखि नै विवादित छ ।कतारको समलिंगी कानून, मानवअधिकारको खराव अवस्था र आप्रवासी कामदारमाथिको व्यवहारका कारण आलोचना भइरहेको छ । यसबारे केही टिम र खेलाडीहरूले शान्तिपूर्ण विरोधको योजना बनाएका छन् ।

इङ्ल्यान्डका ह्यारी केन र युरोपेली टोलीका अन्य ९ कप्तानले ‘वान लभ’ आर्मब्यान्ड लगाउनेछन् ।डेनमार्कले कतारको विरोध गर्न विश्वकपको लागि ‘टोन्ड(डाउन’ शर्ट लगाउनेछ । उनीहरूको किट प्रदायक हमेलले ‘हजारौंको ज्यान गुमाएको’ दाबी भइरहेको प्रतियोगितामा देखिने नचाहेको जनाएको छ ।

फ्रान्स साविक विजेता भए पनि पेरिस र अन्य फ्रान्सेली शहरहरूले सार्वजनिक क्षेत्रमा विश्वकप खेलहरू देखाउन अस्वीकार गरिरहेका छन् ।

अष्ट्रेलियाको टोलीले कतारलाई समलिंगी सम्बन्धबारेको कानून खारेज गर्न आग्रह गर्दै एउटा भिडियो सार्वजनिक गरेको छ ।

विभिन्न खालका गतिविधिहरु सार्वजनिक भइरहँदा अहिले भने विश्व फुटबलको सर्वोच्च निकायले सबै प्रतिस्पर्धी राष्ट्रहरूलाई पत्र लेखेको हो ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो र महासचिव फात्मा समौराले हस्ताक्षर गरेको पत्रमा ‘अब फुटबलमा ध्यान केन्द्रित गर्न’ देशहरूलाई आह्वान गर्नुका साथै यसो भनिएको छ, ‘मूल, पृष्ठभूमि, धर्म, लिङ्ग, यौन झुकाव, वा राष्ट्रियताको परवाह नगरी सबैलाई स्वागत छ ।’

बीबीसीबाट

 

प्रकाशित : 4 November, 2022

प्रतिक्रिया दिनुहोस्