चितुवासँग त्रिवि परिसर कीर्तिपुरमा मोटरसाइकल ठोक्कियो

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १८, त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा बिहीबार राति चितुवासँग मोटरसाइकल ठोक्किँदा एकजना घाइते भएका छन् ।

बिहीबार राति ९ बजेतिर विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै २३ वर्षिय निशान्त चौधरीले चलाएको मोटरसाइकल चितुवासँग ठोक्किएको हो ।

दुर्घटनामा परेर घाइते भएका चौधरीको किर्तिपुर अस्पतालमा उपचार भइरहेको डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

कीर्तिपुर क्षेत्रमा यस अगाडि पनि बारम्बार चितुवा देखा पर्दै आएको थियो । तर, पछिल्लो समय विश्वविद्यालय परिसरमा बच्चा सहितको चितुवा देखिने गरेको विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठले जानकारी दिए । उनले भने, ‘हिजो आज सानो बच्चा सहितको चितुवा देखिन थालेको छ ।’

बच्चा सहितको यो चितुवाले कुकुरको शिकार गरेको समेत देखिएको पनि श्रेष्ठले सुनाए । उनले भने, ‘यो चितुवा यतातिर कुकुर मारिरहेको पनि देखिन्छ ।’

विश्वविद्यालय परिसरमा चितुवा देखिन थालेपछि साँझपख विश्वविद्यालय परिसरमा हिँडडुल गर्न डर लाग्न थालेको श्रेष्ठले सुनाए ।

जंगलमा आहाराको कमि भएपछि चितुवा मानव बस्तीतिर आहाराको खोजिमा आउने गरेको जानकार बताउँछन् ।

वन तथा भु–संरक्षण विभागकी वन्यजन्तु संरक्षण शाखाकी वन अधिकृत सबनम पाठकले भाले चितुवाबाट जोगाउनका लागि माउ चितुवा बच्चासहित शहर नजिकका जंगल छिर्ने गरेको बताइन ।

 

प्रकाशित : 4 November, 2022

प्रतिक्रिया दिनुहोस्