जलवायु अनुकूलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको अनुरोध

काठमाडौँ । कात्तिक १८, राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् ।
शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् ।
उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गरिन् । मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले अहिलेको राम्रो काम भावी पुस्तालाई उपहार हुने भएकाले सबैले सचेत भएर काम गर्न आग्रह गरिन् । उनले जलवायु अनुकूलन र वातावरणमैत्री व्यवहारका लागि अर्थ प्रणालीमा पनि सुधार गरेर जानुपर्ने आवश्यकता औंल्याइन् ।