वाणिज्य विभागले छापा मार्दा सिल गरेको गोदामबाटै २७७ बोरा तिल र १५८ बोरा गहुँ गायब
काठमाडौँ । कात्तिक २१, असोज ३० मा वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका निकायले कुलेश्वरको अभिषेक ट्रेडर्समा छापा मार्दा म्याद गुज्रिएको तिल, नरिवल, गहुँ फेला पार्यो ।
विभागले त्यसै दिन सार्वजनिक गरेको दैनिक अनुगमन प्रतिवेदनमा म्याद गुज्रिएको र अधिकतम खुद्रा बिक्री मूल्य स्पष्ट नभएको १८ बोरा नरिवल, ३१७ बोरा तिल, १५८ बोरा गहुँ फेला पारेको उल्लेख गरेको थियो ।
१ कात्तिकको बेलुकी वाणिज्य विभागले प्रेस नोट जारी गर्दै कुलेश्वर क्षेत्रबाट बरामद ४० बोरामा रहेको २ हजार किलो तिल नष्ट गरेको जानकारी गरायो । अर्थात् सिल गरिएको गोदाममा रहेका अरु २७७ बोरा तिल, १८ बोरा नरिवल र १५८ बोरा गहुँ गायब भयो ।
अनुगमनमा खटिएका अधिकारीहरु भने उक्त गोदाममा झण्डै २ सय बोरा जिरा पनि म्याद गुज्रिएको अवस्थामा फेला परेको बताउँछन् दावी गर्छन्, तर विभागको अनुगमन प्रतिवेदनमा जिराबारे उल्लेख भएन ।
बरामद भएको खाद्यवस्तुको परीक्षण गर्ने वा नगर्ने विषयमा वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच विवाद भएको स्रोतको दावी छ । गोदाम सिल गर्ने मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा पनि विवाद भयो ।