निर्वाचन आयोगले पर्सा-४ का कांग्रेस उम्मेदवार रिजाललाई स्पष्टीकरण सोध्यो

काठमाडौँ । कात्तिक २२, निर्वाचन आयोगले पर्सा– ४ मा प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाललाई स्ष्टीकरण सोधेको छ ।
उनले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको विषयमा आयोगले २४ घण्टाभित्र प्रष्टीकरण दिन भनेको छ ।
आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयलाई लिएर उम्मेदवार रिजालले कार्कीलाई धम्की दिएको भनी आयोगमा उजुरी परेको थियो ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१)को खण्ड (घ) मा निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन नहुने उल्लेख छ । यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
आयोगले उम्मेदवार रिजाललाई कार्कीलाई किन धम्की दिएको भन्दै त्यसविरुद्ध प्रचलित कानून बमोजिमको कारबाही प्रक्रिया किन अगाडि नबढाइनुपर्ने हो भनेर सोधेको छ । आयोगको स्पष्टीकरणमा ‘यदि तपाईंले निर्वाचनको काममा खटिएको कर्मचारीविरुद्ध ‘निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्नुभएको हो भने तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ? भनी सोधेको छ ।