निजी क्षेत्रले ब्याजदर बृद्धिका कारण गर्दै आएको विरोध कार्यक्रम तत्कालका लागि स्थगित
काठमाडौँ । कात्तिक २४, निजी क्षेत्रको विरोध कार्यक्रम तत्काललाई स्थगित भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घले पनि तत्कालका लागि विरोधसम्बन्धी कुनै गतिविधि नगर्ने निर्णय गरेको छ । महासङ्घले विज्ञप्ति निकालेर विरोधका कार्यक्रम स्थगित गर्न सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ ।
बैंकहरुले ब्याजदर बढाएको भन्दै देशका विभिन्न भागमा उद्योगी तथा व्यवसायीले विरोध प्रदर्शन गर्दै आएका थिए । महासङ्घले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव हुन गइरहेकाले तत्कालका लागि विरोधका कार्यक्रम स्थगित गर्न भनेको छ । बैंकहरुले चर्को ब्याज असुलेको भन्दै विराटनगर, दाङ, बुटवल, काठमाण्डौलगायत मुख्य सहरमा व्यवसायीले प्रदर्शन गर्दै आएका थिए ।