कांग्रेसले मोरङमा मानबहादुर लिम्बुलाई स्वर्गीय शेखरचन्द्रको टिकट दियो

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २४, मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ । नेपाली कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले लिम्बुले टिकट पाएको जानकारी दिए ।

यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको हो । लिम्बु नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

पार्टीको निर्णयपछि टिकट पाएका लिम्बुले मनोनयन दर्ताको तयारी गरिरहेको उनले बताए । निर्वाचन आयोगले निधन भएर खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको छ ।

क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट दिलिप राईसहित ५ जना उम्मेदवार छन् ।

 

प्रकाशित : 10 November, 2022

प्रतिक्रिया दिनुहोस्