अहिलेसम्म भूकम्प पीडितलाई राहत पुगेन अस्थायी भए पनि टहराको माग

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २४, डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरु खुला चौरमा रात बिताउन बाध्य भएका छन्।अस्थायी रुपमा भए पनि टहराको व्यवस्था गरिदिन सरकार समक्ष पीडितहरुको माग छ ।

त्रिपाल भएका र तरकारी उत्पादनका लागि पोली हाउस बनाएका केही बाहेक अन्यले खुला चौरमै बसेर रात बिताएका छन् । पोली हाउस भएकाहरु भने त्यहीँ बसेका छन् । भूकम्पपछि पराकम्प गइरहेकाले पीडितहरुमा थप त्रास बढेको त्यहाँका भरत बोहोराले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म पीडितले राहत पाएका छैनन् ।

जाडोको बेला भएकाले चिसोबाट बँच्न आगो बालेर रात बिताउने गरेको उहाँले गुनासो गर्नुभयो । भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न वितरण गरे पनि त्यो अपुग भएको छ ।

भूकम्प पीडित खडकबहादुर बोहोराले भन्नुभयो, ‘बस्नलाई घर छैन, पकाउनलाई भाँडा छैन, हाम्रा पीडा कस्ले सुन्ने ।’ त्यहाँका जगतबहादुर बोहोराले न्यानो कपडा अभावले बालबालिका तथा ज्येष्ठ नागरिकहरु चिसोले कठ्याङ्ग्रिने गरेका बताउनुभयो ।

विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृहमन्त्रालयबाट भूकम्प पीडितहरुका लागि त्रिपाल र कम्बल आइपुगेकाले सम्भवतः आजै वितरण गरिने बताउनुभयो ।

बुधवार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा परि यस गाउँका ६ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । भूकम्पबाट आठ वटा घर पूर्ण रुपमा क्षति पुगेको छ भने दर्जनौँ घरमा आ‌ंशिक क्षति पुगेको छ ।

 

 

प्रकाशित : 10 November, 2022

प्रतिक्रिया दिनुहोस्