भारतिय नाकामा तस्करी बढ्दै प्रशासन मिलेमतोको संकेत

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २४,    गत महिना नेपालसंग सिमाना जोडिएका भारतीय बजारमा इन्डिया टिभीले गरेको रिपोर्टिङमा नेपालतर्फ चिनी तस्करी भइरहेको छ । तर, नेपालतर्फ भित्रिएको तस्करीका सामानबारे नेपालतर्फ कुनै अभिलेख पाइँदैन ।

भारतबाट नेपालतर्फ तस्करी बढेको विषय भारतीय सञ्चार माध्यमको प्राथमिकतामा हुनु तर नेपालतर्फ सबै चुपचाप हुनुले तस्करीमा मिलेमतोको संकेत गर्छ । यही मिलेमतोलाई गृह मन्त्रालयले भर्खरै गरेको एक अध्ययनले थप खुलासा गरेको छ ।

गत महिना झापा, मोरङ र सुनसरीलाई आधार बनाएर मन्त्रालयका सहसचिव डा.भीष्मकुमार भुसालको संयोजकत्वको टोलीले गरेको अध्ययनमा सीमामा खटिएका प्रशासनको मिलेमतो र राजनीतिक दलको संरक्षणमा तस्करी हुने गरेको खुलासा गरेको हो ।

नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल, सशस्त्रका डीआईजी किशोर प्रधान र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेको कार्यदलले सीमामा खटिएका संयन्त्र बीचमै समन्वय नहुँदा तस्करी मौलाएको किटान गरेको छ ।

नेपाल भारत सीमामा तस्करी मौलाउनुमा तालुक मन्त्रालयदेखि बोर्डर सुरक्षा पोष्टका सुरक्षाकर्मी, भन्सारका कर्मचारी, व्यापारी र राजनीतिक दल संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ ।

तल्ला निकाय तस्करीमा संलग्न हुने गरेको भन्दै प्रतिवेदनले उनीहरुलाई जोगाउने अन्तिम अस्त्र राजनीतिक दल र त्यसका नेता भएको किटान गरेको छ । तर, उनीहरु कुन क्षेत्रका कुन राजनीतिक दल वा नेताहरु स्पष्ट छैन ।

मुलुकबाट विदेशी मुद्रा सञ्चिती घट्नुमा तस्करीको एउटा वस्तु सुपारी भएको प्रतिवेदनले किटान गरेको छ । तेस्रो मुलुकबाट आयात भएको सुपारीलाई सरकारी संयन्त्रले नै नेपालमा उत्पादन भएको भन्दै सर्टिफिकेट जारी गरेको प्रतिवेदनमा उल्लेख छ । यस विषयमा थप अध्ययन र कारबाही गरिनु पर्ने भन्दै प्रतिवेदनले केही विशेष सिफारिस गरेको एक सदस्य बताउँछन् ।

 

प्रकाशित : 10 November, 2022

प्रतिक्रिया दिनुहोस्