विष्णु पौडेलको कालीगण्डकी डाइभर्सन गरिछाड्ने प्रतिबद्धताले गण्डकीमा तरंग

काठमाडौँ । कात्तिक २४, रुपन्देहीका एमाले उम्मेदवार विष्णु पौडेलले घोषणापत्रमार्फत जुनसुकै हालतमा कालीगण्डकी डाइभर्सन गरिछाड्ने प्रतिबद्धता सार्वजनिक गरेपछि त्यसले गण्डकीको राजनीति तरंगीत बनेको हो ।
एमाले नेता खगराज अधिकारीले पनि पार्टीका कोही व्यक्तिले घोषणापत्रमा लेख्दैमा डाइभर्सन नहुने बताउँछन् । ‘कालिगण्डकी हाम्रो प्राथमिकता हो । एउटा व्यक्ति र एउटा प्रदेशले भनेर त्यो डाइभर्सन हुँदैन,’ उनले भने, ‘म डाइभर्सनको विपक्षमा छु ।’
माओवादीका नेता हितराज पाण्डे डाइभर्सन कुनै हालतमा नहुने बताउँछन् । ‘प्रदेश पार्टीको निर्णय हो । कालीगण्डकी हाम्रो सम्पत्ति हो । सबैभन्दा धेरै हाम्रो भूभागमा बग्छ । कसैले भनेर डाइभर्सन हुँदैन,’ उनले भने ।
पछिल्ला हरेक निर्वाचनमा कालीगण्डकी डाइभर्सन बढी चर्चामा आउँछ । गण्डकी र लुम्बिनी प्रदेशको सीमाबाट बग्ने उक्त नदीलाई गण्डकीले सभ्यताको रुपमा मान्छ । स्याङजाको पिपलडाँडाबाट सुरुङमार्फत् पानी लगेर लुम्बिनीमा जमिन सिंचाईं गर्ने योजना अनुसार उक्त डाइभर्सनको प्रक्रिया सरकारले नै अघि बढाएको थियो ।