नेपालबाट तीन टिम सहभागी बन्दै पब्जी मोबाइल विश्वकप आजदेखि सुरु

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २४, पब्जी मोबाइलको सबैभन्दा ठूलो प्रतियोगिता पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) विहीबारदेखि सुरु भएको छ । मलेसिया र इण्डोनेसियामा आयोजना हुने विश्व च्याम्पियनसिप करिब दुई महिनासम्म चल्नेछ ।

विश्व च्याम्पियनसिपमा नेपालबाट तीन टिम छनोट भएका छन् । विश्वभरबाट क्षेत्रीय छनोटमार्फत विश्व च्याम्पियनसिपका लागि ४८ टिम छनोट भएकोमा नेपालबाट तीन टिमले सफलता पाएका हुन् ।

अघिल्लो साता सम्पन्न दक्षिण एसियाली छनोटमा दोस्रो भएको डीआरएस गेमिङ, तेस्रो स्काइलाइट्ज गेमिङ र पाँचौं भएको ट्रेण्ड टू किल (टीटूके)ले विश्व च्याम्पियनसिप खेल्नेछन् । पीएमजीसीमा छनोट प्रतियोगिताबाट आएका ४८ टिमलाई १६ टिमका दरले तीन समूहमा विभाजन गरिएको छ ।

नेपालबाट छनोट भएकामध्ये डीआरएस गेमिङ समूह रेड, स्काइलाइट्ज गेमिङ समूह ग्रीन र टीटूके गेमिङ समूह एल्लोमा परेका छन् । डीआरएसका खेलाडीहरु दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टाई हुन् ।

स्काइलाइट्जमा अजय श्रेष्ठ, युजेन लामा, अन्जन राई र निमा तामाङ तथा टीटूके टिममा अभिशेक सिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्य जस्ता स्टार खेलाडीहरु समावेश छन् ।

तेस्रोपल्ट हुन लागेको पीएमजीसीमा नेपालको डीआरएस टिम लगातार छनोट हुँदै आएको छ । उसको यो तेस्रो विश्व च्याम्पियनसिप हो । स्काईलाइट्ज र टीटूकेले पहिलोपल्ट विश्व च्याम्पियनसिप खेल्न लागेका हुन् ।

 

प्रकाशित : 10 November, 2022

प्रतिक्रिया दिनुहोस्