एमाले अध्यक्ष ओली धनगढी पुगे, अब डोटी जाने

सहयात्रा टिभी

धनगढी । कातिक २६, राष्ट्रव्यापी चुनावी प्रचारप्रसार प्रारम्भ गर्न एक साताअघि सुदूरपश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि चुनावी सभा सम्बोधन गर्न आज सुदूरपश्चिम पुगेका छन् ।

शनिबार बिहान १२ बजे ओली सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको कैलालीको धनगढी ओर्लिएका हुन् । श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी आएका छन्।

अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आएको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । उनका अनुसार आज केहीबेरमै डोटीको दिपायलमा ओलीले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ओली केहीबेरमा धनगढीबाट डोटीतर्फ जानेछन् । यस्तै त्यहाँबाट फर्केर कैलालीस्थित गोदावरीको अत्तरिया र लम्कीचुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई पनि ओलीले सम्बोधन गर्ने छन् ।

गोदावरीको अत्तरियामा २ बजे र लम्की चुहाँको लम्कीमा ४ बजे आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ । यी तीनै सभालाई अध्यक्ष ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्ने छन् ।

यसअघि १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए। भारतले कब्जा गरेको लिपुलेक,लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेका ओलीले निर्वाचन प्रचार प्रसारमा पनि सुदूरपश्चिमबाटै राष्ट्रियताको विषयलाई बुलन्द गरिरहेका छन् ।

प्रकाशित : 12 November, 2022

प्रतिक्रिया दिनुहोस्