प्रचण्डले सशस्त्र युद्ध घोषणा गरेको होलेरीबाटै शान्ति र मेलमिलापको सन्देश दिने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २७, २०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरि तत्कालीन विद्रोही माओवादीले नेपालमा सशस्त्र युद्ध सञ्चालन भएको घोषणा गरेको थियो ।

सशस्त्र युद्ध घोषणा गरेको त्यही होलेरीबाट २७ वर्षपछि प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका छन ।

कात्तिक २९ गते लोकतान्त्रिक वाम गठवन्धन निर्वाचन परिचालन समिति रोल्पाको जिल्ला स्तरीय चुनावी सभालाई सम्वोधन गर्न होलेरी आउने देउवा र प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका हुन ।

विगतमा द्वन्द्वको किल्ला रहेको रोल्पा अब शान्तिको किल्ला बन्दै गएको कुरालाई आश्वस्त पार्न देउवा र प्रचण्ड होलेरी आउन लागेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार वर्षमान पुनले वताए ।

दश वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा माओवादीले होलेरी चौकी २ पटक आक्रमण गरेको थियो । होलेरी चौकी आक्रमण हुँदा देउवा गृहमन्त्री थिए भने दाहाल तत्कालीन विद्रोही माओवादीको महामन्त्री थिए । उक्त आक्रमण माओवादी नेता वर्षमान पुनको नेतृत्वमा भएको थियो ।

एक निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन तथा प्रदेश सभा १ सोही पार्टीका जोखवहादुर महरा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन ।

प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका छन ।

 

प्रकाशित : 13 November, 2022

प्रतिक्रिया दिनुहोस्