डा. तोसिमा कार्कीको उम्मेदवारी बारे आज अदालतमा सुनुवाइ

काठमाडौँ । कातिक २८, ललितपुर-३ डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे सोमबार टुंगो लाग्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा कार्कीको उम्मेदवारीवारे बहस हुनेछ र सम्भवतः सोमबार नै सर्वोच्च अदालतबाट आदेशसमेत आउनेछ । निर्वाचन आयोगको निवेदनलाई सर्वोच्च अदालतले पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्नेछ ।
नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदबाट राजीनामा नदिइ डा. कार्की ललितपुर-३ मा मनोनयन दर्ता गराएकी थिइन् ।
दाबी विरोधका क्रममा कुनै निर्णय नगरेको निर्वाचन आयोगले पछि उनी लाभको पदमा रहेको भनी उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो ।
निर्वाचन आयोगको निर्णयविरुद्ध डा. कार्की सर्वोच्च अदालत गएकी थिइन् । न्यायाधीश डा. कुमार चुडालको इजलासले मेडिकल काउन्सिलको निर्वाचित सदस्यलाई लाभको पद भन्न नमिल्ने भनी उम्मेदवार कार्कीको पक्षमा अन्तरिम आदेश दिएको थियो ।
त्यो आदेश त्रुटिपूर्ण भएको र त्यही दिन सर्वोच्च अदालतको अर्को इजलासबाट भएको आदेशसँग बाझिएको भन्दै निर्वाचन आयोग अन्तरिम आदेश हुनुपर्ने र आफ्नो निर्णय काम हुनुपर्ने माग राखी सर्वोच्च अदालत गएको हो ।
सोमबार सर्वोच्च अदालतले दिने आदेश नै डा. कार्कीको उम्मेदवारी कायम रहने वा नरहने भन्नेमा निर्णायक हुने देखिन्छ ।यदि सर्वोच्च अदालतले पुरानो अन्तरिम आदेशलाई निरन्तरता दिइ उम्मेदवारी कायम रहने आदेश गरेमा उनी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेछिन् ।
अन्तरिम आदेशलाई निरन्तरता नदिए निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज हुने भनी गरेको निर्णय मान्य हुनेछ । र, उनी प्रतिस्पर्धाबाट बाहिरिनेछिन् ।